प्रधानमन्त्री सचिवालयले भन्यो- जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसायले राजीनामा मागियो

बिहीबार, असार २१, २०८०

काठमाडौँ– प्रधानमन्त्री सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज एक विज्ञप्ति जारी गर्दै सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् ।

अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आउनु भएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रष्ट नै छ । यसैक्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ,’ विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्