राजनीति

प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहिन्छ : अध्यक्ष ओली [भिडियो]

‘हामीलाई प्रधानमन्त्रीको जवाफ होइन, अब राजीनामा चाहिएको छ’
बुधबार, असार २०, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।

बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनता बिपरितको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् । 

ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अस्वभनिय र आपत्तीजनक रहेको जिकिर गरे । उनले भने, ‘हामीलाई प्रधानमन्त्रीको जवाफ होइन, अब राजीनामा चाहिएको छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै बिपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो । ‘प्रचण्ड’ले दिएको विवादास्पद अभिव्यक्तिको विरोधका कारण संसद्का दुवै सदन चल्न नसक्दा मिटरब्याजीहरुलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय बनेको छ । 

प्रधानमन्त्री ‘प्रचण्ड’ले गत सोमबार व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको भन्दै विवादित अभिव्यक्ति दिएका थिए । 

प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा उक्त विवादास्पद अभिव्यक्ति दिएका थिए । सो कार्यक्रममा उनले भनेका थिए, ‘उहाँ (सिंह)ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’ 

भिडियो हेर्नुस्

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्