प्रधानमन्त्रीको प्रतिबद्धता– भ्रष्टाचारविरुद्ध सतिसाल झैं उभिन्छु 

बुधबार, असार २०, २०८०

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसाल झैँ उभिने बताएका छन् ।

आज दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताए ।

उनले भने, “सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रक्रिया रोकिन्नँ, हेर्दै जानुहोला– थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।“

प्रधानमन्त्री प्रचण्डले फेरि एउटा नयाँ परिस्थिति बने दाबी गर्दै माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दै गरेको जनाए ।

“२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं । तर, पार्टी एकताबद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो,“ उनले भने, “फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ ।“

सो अवसरमा प्रचण्डले २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरी परिणाम ल्याउने दाबी गरे ।

“घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियोे,“ उनले भने, “यो आफैँमा वर्गसंघर्ष हो । वर्गसंघर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो । २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरी परिणाम दिनुपर्छ, दिन्छौं ।“

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू सम्पूर्ण रूपले समर्पित हुने प्रतिबद्धता जनाए ।

“इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्,  हैरान र परिसान छन् । तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं । सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन् । तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन् ।’’


 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्