कसिलो मौद्रिक नीतिले राजस्व संकलनको लक्ष्यमा अप्ठेरो पर्यो– अर्थमन्त्री डा. महत

मंगलबार, असार १९, २०८०

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहे पनि समस्यामुक्त भइनसकेको बताएका छन् ।

मंगलबार संसदको अर्थ समितिमा बोल्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा समस्याहरु देखा पर्दै जाने र समाधान हुदै पनि जाने बताए ।

‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ,’ उनले भने ।

उनले २००७ सालपछि मात्रै भौतिक विकास सुरु गरेको र यो कालखण्डमा राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले भौतिक विकासमा पछाडि परेको धारणा पनि राखे ।

उनले अहिले आवश्यकता धेरै भए पनि स्रोत साधनको सिमितता रहेको बताए ।

‘आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ, पूरा गरेका कुरा कम छ । यस अर्थ असन्तुष्टि आउनु स्वभाविक हो । धेरै कुरा हामीले निर्णायक रुपमा सुधार गरेर लैजानुपर्छ । समग्र राज्य संरचना, आम नागरिकलगायत हामी सबैको सक्रियता जरुरी छ,’ उनले भने ।

उनले राजस्व उठाउने विषयमा समस्याहरु रहेको स्वीकार गरे ।

‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भएको छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौं, प्रगति भएको छ । हामीले गत वर्षभन्दा ०.५२ प्रतिशत बढी उठाउन सक्छौं’ मन्त्री डा. महतले भने ।

राष्ट्र बैंकले कसिलो मौद्रिक नीति अपनाएको कारण राजस्व संकलनमा असर परेको उनको दाबी छ ।

‘कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन,’ अर्थमन्त्री डा. महतले भने ।

कसिलो मौद्कि नीतिको कारण अर्थतन्त्रमा समस्या परेको उनको भनाइ छ ।

‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन । गैरकर गत वर्षभन्दा ११.८८ प्रतिशत बढी उठेको छ । जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौं । यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौं,’ डा. महतले भने ।

आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको उनको अनुमान छ ।

क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाइ थियो । पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिने गरिएको छ । तर, अब पछाडि फर्कन सक्ने अवस्था नभएको उनको स्वीकारोक्ति छ ।

‘यसबाट हामी पछाडि फर्किन सक्दैनौं । अब निर्णय गर्दा विचार गर्नुपर्छ, अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो, जसलाई आवश्यक पर्दैन, त्यहाँ हामीले थप खर्च गर्नुपर्दैन । यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रुपमा कार्यान्वयन गर्न सक्छौं,’ डा. महतले भने ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्