प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख घिमिरे  

मंगलबार, असार १९, २०८०

काठमाडौँ– सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग छलफल गर्दैछन् ।
सभामुख घिमिरेले अहिले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एवं  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् ।

 संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गरेका हुन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी छन्  । 

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्