कला-साहित्य र खेलकुदलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री

आइतबार, असार १७, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताएका छन् ।

आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाहरूको भविष्यसँग जोडिएको बताए ।

‘तपाईहरूले देख्नुभएकै छ- यसपटक मैले कला–साहित्य र खेलकूदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। खेलकूदको विकासले युवाहरूको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयमिक महत्व छ। सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रबर्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने ठानेको छु । बक्सिङ खेललाई राम्रोसँग स्थापित गर्न तपाईहरूले जुन भूमिका खेल्नुभएको छ, त्यो महत्वपूर्ण छ । यसमा सरकारको साथ र सहयोग रहन्छ ।’

नेपाल बक्सिङ संघको तत्वावधान र अखिल नेपाल खेलकूद संघ र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्