कोशीका मुख्यमन्त्रीको आरोप– पहिचानवादीको आन्दोलनमा प्रधानमन्त्रीले पेट्रोल छर्किए 

बिहीबार, असार १४, २०८०

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचानवादीको आन्दोलनमा पेट्रोल छर्किएको आरोप लगाएका छन् । आज कोशी प्रदेशसभामा विश्वासको मत माग्दै उनले यस्तो आरोप लगाएका हुन् ।

मुख्यमन्त्री कार्कीले अघिल्लो प्रदेशसभाले पूरा गर्न नसकेको नामाकरणको विषय आफूले संविधानसम्मत निष्कर्षमा पुर्याए पनि संघीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले हस्तक्षेप गरेको बताए ।

‘संवैधानिक विधि, प्रक्रिया पूरा गरेर । हाम्रो प्रदेश सभा र प्रदेश संरचनासँग कुनै सल्लाह नै नगरी नेपाल सरकारका मन्त्री, प्रधानमन्त्रीहरू गलत भयो भनेर बोल्दिनु हुन्छ ? त्यसले यहाँको समस्यामा आगोमा घिउ छर्किने अभवा पेट्रोल छर्किने कामसमेत भयो । नामाकरण हामीले संवैधानिक ढंगले पुरा गरेका छौं,’ उनले भने ।

प्रदेश नामाकरणमा चित्त नबुझे सहमतिमा संवैधानिक ढंगबाट परिवर्तन गर्न सकिने उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले प्रदेश नामाकरण गल्ती भयो भनेर प्रदेश सभाको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको उनको आरोप छ ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत दिँदै छन् । तर, प्रायः सबै मुख्य पार्टीले उनलाई मत नदिने निर्णय गरेसँगै उनले विश्वासको मत नपाउने निश्चित छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्