ललिता निवास प्रकरण

के हो ललिता निवास प्रकरण ?

बुधबार, असार १३, २०८०

काठमाडौँ– प्रहरीले बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणलाई लिएर फेरि अनुसन्धान अघि बढाएपछि यसबारे धेरैको चासो बढेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेकामध्ये चार जनालाई बुधवार जिल्ला अदालत काठमाडौँबाट म्याद थपको अनुमति पाएको छ । सीआईबीले कागजपत्र किर्तेको अभियोगमा अनुसन्धान अघि बढाएको हो ।

ललिता निवास नेपाली कांग्रेसका नेता सुवर्ण सम्शेरको दरबार हो । तर, सरकारले विसं २०२१ मा हदबन्दी लागु गरेपछि सरकारले ललिता निवासको ठूलो क्षेत्रफल अधिग्रहण गरेको थियो ।

तर सरकारले अधिग्रहण गरेको हालको बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा विभिन्न मितिमा नीतिगत निर्णय गराउँदै अनधिकृत रूपमा व्यक्ति र संस्थाको नाममा कायम गरिएको पाइएको थियो ।

कृत्रिम मोही खडा गर्ने, गलत लिखत तयार गर्ने, सट्टाभर्ना दिने जस्ता कार्य गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले ललिता निवासको जग्गा अपचलनबारे छानबिनका लागि नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

उक्त छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी र अख्तियारले थप अनुसन्धान गरेका थिए ।

अनुसन्धानबाट ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको र ती जग्गाहरू केही संस्था र झन्डै छ दर्जन व्यक्तिको नाममा रहेको खुलेको अधिकारीहरूको भनाइ छ । – बीबीसी नेपाली

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्