युक्रेनको ‘सैन्य’ निशानामा मात्र प्रहार गरेको रूसको दावी

बुधबार, असार १३, २०८०

मस्को– युक्रेनको पूर्वी शहर क्रामाटोर्कको एक रेष्टुरेन्टमा भएको आक्रमणमा रूसी संलग्नताबारे बोल्दै रूसी सेनाले युक्रेनमा सेनासँग सम्बन्धित लक्ष्यमा मात्र आक्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ ।

रेष्टुरेन्टमा भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने र दर्जनौँ व्यक्ति घाइते भएका थिए । 

शहरमा सैनिक, पत्रकार र सहायताकर्मीका लागि लोकप्रिय मानिने रिया पिज्जा रेष्टुरेन्ट ध्वस्त भएको एक दिनपछि यो टिप्पणी आएको हो । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “रूसले कुनै न कुनै रूपमा सैन्य पूर्वाधारसँग सम्बन्धित वस्तुहरूमाथि मात्र आक्रमण गर्छ ।” उनले भने, “रूसी सङ्घले नागरिक पूर्वाधारमा आक्रमण गर्दैन ।” 

युक्रेन प्रहरीले रेष्टुरेन्टमा पाहुनाको व्यस्तता रहेको समय आक्रमण भएका कारण १० जनाको मृत्यु भएको र ६१ जना घाइते भएको जनाएको छ । युक्रेनी आपतकालिन सेवाका अनुसार मृत्यु हुनेमा तीन जना बालबालिका रहेका छन् । 

घाइतेमध्ये सन् २०२२ मा जन्मिएको एक शिशु पनि रहेको र केही मानिस अझै भग्नावशेषमुनि रहेको हुनसक्ने बताइएको छ । 

रूसी रक्षा मन्त्रालयले बुधबार यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै युक्रेनको ५६ औँ ब्रिगेडका वरिष्ठ कमाण्ड स्टाफको ‘अस्थायी तैनाथी बिन्दु’मा आक्रमण गरेको जनाएको छ ।

आक्रमणको केही समयपछि घटनास्थलमा पुगेका एएफपीका एक पत्रकारले रेष्टुरेन्टमा भग्नावशेष देखेपछि उद्धारकर्मीहरू भग्नावशेष हटाउन र शवहरूको खोजी गर्न दौडिरहेका थिए । 

रूसले युक्रेनमा आफ्नो १६ महिना लामो युद्धका क्रममा नागरिक संरचनामा आक्रमण गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्