बजेट पारित गर्न माओवादी केन्द्रले लगायो सांसदहरूलाई ह्विप

मंगलबार, असार १२, २०८०

काठमाडौँ– सरकारको नेतृत्व गरिहेको दल नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ ।

संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले आज निर्देशन जारी गरेका छन्।

‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वर्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ पाण्डेले हस्ताक्षर गरेको ह्विपको पत्रमा भनिएको छ ।

बजेट बुधबार पारित गर्ने कार्यसूची रहेको छ । बजेटप्रति सत्तारूढ दलका सांसदमात्र होइन मन्त्री नै रूष्ट देखिएका छन् । 
यसअघि सरकारमै सहभागी अर्को घटक नेपाली कांग्रेसले पनि ह्विप लगाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्