प्रहरीका सिनियर अधिकृतको स्वच्छिक अवकास २० वर्षे गरिनुपर्छ  : पूर्वगृहमन्त्री लामिछाने

शुक्रबार, असार ८, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताए । 

    उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरे । सांसद लामिछानेले तरकारीको विषादी परीक्षण गर्न माग गरे ।  

    बजेटमा संशोधन हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सत्तारुढ दलका सांसदले नै बजेट ठीक छैन भन्नुभएको छ । तर सरकारमा सहभागी भएका आधारमा पास गर्नुपर्छ भन्ने संस्कार गलत छ, सच्याइयोस् ।’ उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानआर्कषण गराउँदै बढ्दो कालोबजारी र खुल्ला सीमामा बढ्दो तस्करी नियन्त्रण गर्नुपर्ने माग गरे । 

    नेपाल प्रहरीको स्वच्छिक अवकासका विषयमा सुझाव प्रस्तुत गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने, ‘प्रहरी जवान र हवल्दारको स्वच्छिक अवकासलाई १६ वर्षे गरिनुपर्छ । जुनियर अधिकृतहरुको १८ वर्षे र सिनियर अधिकृतको २० वर्षे गरिनुपर्छ । २० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था गरिनुपर्छ ।’ उनले आर्थिक अवस्थाको वास्तविक मूल्याङ्कनबाट राजस्व प्रक्षेपण गरी संशोधन प्रस्ताव ल्याउन अनुरोध गरे ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्