काठमाडौँ महानगरको नगरसभा

काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा २१०० स्वर्णिम योजना [पूर्ण पाठसहित]

बुधबार, असार ६, २०८०

काठमाडौँ– काठमाडौं महानगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनमा यस महानगरका प्रमुख बालेन शाहले बुधबार आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रमुख शाहले सबै क्षेत्रलाई समेट्दै १० वटा गौरवका योजना पनि अघि सारेका छन् । उनले महानगरवासीका दैनिक समस्या समाधानका लागि आकर्षक योजना ल्याएका छन् । 

सार्वजनिक शिक्षादेखि नगरलाई सफा र सुन्दर बनाउने काममा महत्वपूर्ण उपलब्धी हासिल गरेका उनले शिक्षासम्बन्धी कार्यनीतिअन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अघि सारेका छन् भने विद्यालयलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउन सुन्दर विद्यालय परियोजना सञ्चालन गरिने बताएका छन् । 

कामपालाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने

कामपालाई खुला सङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटन महानगरको धनअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।  

नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कलाकारसँग सहकार्य गरी स्वर्णिम योजनाका रूपमा कार्यक्रम सञ्चालन गरिने नीति पनि कामपाले लिएको छ ।  

नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने उल्लेख छ । निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।  

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि टेवा पुर्‍याइनेछ । बौद्धनाथ र स्वयम्भूलाई महानगरपालिका मातहत सञ्चालन र व्यवस्थापन गर्नका लागि आवश्यक समन्वय र कानूनी प्रबन्ध गरिने नीति पनि कामपाले लिएको छ ।  

सम्पदा क्षेत्रमा सवारीसाधनको प्रवेशलाई निषेध

स्थानीय समुदाय तथा विज्ञको समन्वय र सहयोगमा सम्पदा क्षेत्रमा सवारीसाधनको प्रवेशलाई निषेध गरिनेछ । सम्पदा संरक्षण र प्रवर्द्धन हुने परम्परागत शैलीका घर निर्माण गर्न घरधनीलाई प्रोत्साहित गरिनेछ । हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको ‘हेरिटेज वाक’ लाई सञ्चालन गर्नेगरी कार्यक्रम अघि बढाइनेछ ।

कामपा वडा नं ३२ स्थित तिनकुनेको जग्गाको मुआब्जासम्बन्धी विषयको समस्या समाधानका लागि सङ्घीय सरकारसँग ठोस पहल गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने योजनालाई निरन्तरता दिइनेछ ।

सवारी साधनको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्काशन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

कामपाको फोहर व्यवस्थापनमा रहेको लामो समयदेखिको अन्योललाई अन्त्य गरी आगामी आवभित्र ठोस योजनासहितको दिगो समाधानको कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।  

नीति तथा कार्यक्रममा कामपाभित्रको नदीनालाको नियमित सरसफाइ गर्न नदी सरसफाइ स्वर्णिम योजनाका रूपमा सञ्चालन गरिने जनाइएको छ । यसका लागि आवश्यक उपकरण खरिद गरी संस्थागत क्षमता विकास गरिने तथा वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।  

कामपालाई आवश्यक पर्ने सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिइनेछ । सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई रोक लगाइने छ । 

मालपोत र नापीसम्बन्धी कार्यलाई महानगरपालिका मातहत सञ्चालनमा ल्याउन आवश्यक समन्वयसहित नीतिगत प्रबन्ध गरिनेछ ।

कामपाको सेवा प्रवाह १६ घण्टामा विस्तार गरिने 

महानगर प्रमुख शाहले अत्यावश्यक सेवा परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार कामपाअन्तर्गतका कार्यालयका सबै सेवा प्रवाह विन्दुमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना गरी क्रमिकरूपमा सञ्चालनमा ल्याइनेछ । कामपाको निर्णय प्रक्रियालाई पारदर्शी, सहज, सूचना प्रविधिमैत्री, सेवाग्राहीमैत्री, कुशल एवं प्रभावकारी बनाइनेछ । 

नीति तथा कार्यक्रममा सङ्घ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्वसहमति एवं समन्वयबिना छनोट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ । 

सेवा केन्द्रका रूपमा सेवा प्रवाह गरिरहेका वडा कार्यालयको काम कारबाहीलाई थप प्रभावकारी र अधिकार सम्पन्न बनाउन थप कर्मचारी, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको व्यवस्था मिलाइने बताइएको छ ।

वार्षिकरूपमा एक लाख रुख बिरुवा रोप्ने

वार्षिकरूपमा एक लाख रुख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाको रूपमा कार्यक्रम सञ्चालन गरिनेछ । 

चराचुरुङ्गीको वासस्थान सुनिश्चित गर्नका लागि महानगरभित्र रहेका सहरी जङ्गलको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगर क्षेत्रभित्रको सम्भावित स्थानमा पोखरी स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने र यस विषयमा छिमेकी नगरपालिकासँग समेत समन्वय र सहकार्य गरिने कार्यक्रमा बताइएको छ । 

वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गरिने नीति कामपाले लिएको छ ।  

बीस वर्षे रणनीतिक विकास योजनासहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी कार्यान्वयन गरिने छ । 

पढ्नुहोस् नीति तथा कार्यक्रम

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्