उड्डयन प्राधिकरणले सोध्यो मेयर बालेनलाई ७ दिने स्पष्टीकरण

शुक्रबार, असार १, २०८०

काठमाडौँ– नेपाली वायुसेवाको सर्वोच्च निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले प्रमुख शाहलाई आज सात दिने लिखित स्पष्टिकरण सोधेको हो । 

प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार महानगरका प्रमुख शाहको निर्देशनमा भत्काइएको आरोप लगाएको छ ।

‘का.जि.का.म.न.पा.वडा नं. ९ स्थित नक्सा सिट न. १०२–११४७–१५, कि.नं.३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो’, प्राधिकरणले भनेको छ । 

साथै प्राधिकरणले तारवार फेन्सिङ्ग काटी लैजाने कार्यमा शाहको प्रत्यक्ष संलग्नता देखिएको भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ ।

प्राधिकरणले शाहलाई सोधेको स्पष्टिकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘म्यादभित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम कारवाही गरिने छ ।’

caan

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्