३ दिनमा संरचना बनाएर १० लाख लिटर पानी

मंगलबार, जेठ ३०, २०८०

हेटौँडा– हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी वितरण गरेको छ ।

बोर्डका अध्यक्ष प्रताव विष्टको अनुसार सुक्खायामसँगै हेटौँडामा पानीको समस्या बढ्न थालेपछि बोर्डले पूर्वाधार निर्माण गरेर उत्पादनमा वृद्धि गरेको हो ।

अध्यक्ष विष्टले मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे ब्यारेक अगाडिको राप्ती खोलामा ‘समवेल’ निर्माण गरेर प्रतिमिनेट एक हजार पाँच सय लिटर पानी थप गरिएको उनले बताए । नेपाली सेनासँग स्वीकृति लिएर हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले ब्यारेक अगाडि रापती खोला नजिक ‘समवेल’ निर्माण गरेको उनको भनाइ छ ।

तीन दिनसम्म निरन्तरको प्रयासपछि पानी निकालेर वितरण गर्न सफल भएको बोर्डका लेखापाल सञ्जय न्यौपानेले बताए । पानी नपरेर सुक्खायाम बढेपछि पानीको अभाव भएका क्षेत्रमा खानेपानी बोर्डले ट्याङ्कीमार्फत पानी वितरण गर्दै आएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्