सत्तारुढ गठबन्धनबीच बजेट संशोधन गर्ने सहमति

कतिपय अहिले मिलाउने, नमिलेका विषय पछि मिलाउने
मंगलबार, जेठ ३०, २०८०

काठमाडौँ– सत्तारुढ गठबन्धनबीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको जानकारी अनुसार बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आगामी आर्थिक वर्ष २०८०८१ को बजेट संशोधन गर्ने सहमति भएको हो ।

बजेटको विनियोजन असन्तुलित भएको गुनासो आएकाले ती गुनासोलाई सम्बोधन गर्ने सहमति भएको  सल्लाहकार गजुरेलले जानकारी दिए । उनले बजेट पारित नहुँदै केही शीर्षकमा मिलाउन मिल्छ भन्ने छलफल भएको र त्यसरी मिलेसम्म मिलाउने, नमिलेका विषयमा पछि बजेट पारित गरेपछि पनि मिलाउने भन्ने सत्तारुढ गठबन्धनबीच सहमति भएको बताए ।

कम बजेट परेका क्षेत्रमा थप्ने, बढी भएका क्षेत्रमा घटाउने विषयमा नेताहरुबीच सहमति भएको उनले बताए । ‘कतिपय अहिले मिलाउने, नमिलेका विषय पछि मिलाउने भन्ने भएको छ ।’ तर, बजेट वक्तव्यमा उल्लिखित करका दर संशोधन हुने वा नहुने विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए ।

संसद‍्‍मा प्रस्तुत भएको बजेट त जस्ताको तस्तै पारित गर्नुपर्ने व्यवस्था छ । बजेट सरकारको विशेषाधिकार भएकाले संसदीय व्यवस्थामामा बसरकारले प्रस्तुत गरेको बजेट कुनै परिवर्तनविना जस्ताको तस्तै संसदबाट पारित गर्ने प्रचलन छ । बजेट पारित नभएमा सरकारले विश्वास गुमाएको मानिन्छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्