व्यवसायीको दाबी– एमडिएमएस प्रणाली कार्यान्वयन भए वार्षिक ४ अर्ब राजस्व थपिन्छ

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम प्रभावकारी रुपमा कार्यान्वयनमा आए वार्षिक ४ अर्ब रुपैयाँ थप राजस्व बढ्ने दाबी गरेका छन् । मोबाइल आयातकर्ता व्यवसायीहरुले एमडिएमएस प्रणालीका विषयमा जानकारी दिन आइतबार काठमाडौँमा आयोजित अन्तरक्रियाका सहभागी व्यवसायीले यस्तो बताएका हुन् ।

उनीहरुले एमडिएमएस प्रणाली लागू नहुँदा अर्बौं रुपैयाँ बराबरका मोबाइलहरु अवैध रुपमा नेपाल आएको र जसबाट राज्यले ४ अर्ब बराबरको राजस्व गुमाउने गरेको सरकारले तत्काल प्रभावकारी रुपमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम लागू गरे ४ अर्ब बराबरको राजस्व बढ्ने बताए । 

मोबाइल आयातकर्ता संघ नेपालका अध्यक्ष दीपक मल्होत्राले बजारमा एमडिएमएस प्रणालीका कार्यान्वयनमा आएसँगै मोबाइलको मूल्य बढ्छ भन्ने गलत हल्ला फैलिएको गुनासो गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा प्रयोग गर्न अनुमति नदिएका मोबाइल फोनहरु नेपाली बजारमा देखिएकाले कम गुणस्तरका मोबाइलहरुको नियन्त्रण गर्नको लागि एमडिएमएस प्रणाली लागू गरिएको बताए ।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले विदेशबाट ल्याएका मोबाइल एमडिएमएस प्रणालीमा अनलाइनमार्फत दर्ता गर्नसक्ने प्रविधि ल्याउन लागेको बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार