नेभिगेशन
समाचार

पत्रकारको प्रश्न– तपाईं फेरि अध्यक्ष हुन उमेर हद हटाएको हो ? ओलीको जवाफ– यी चित्र राम्रा छन्

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित एक प्रश्नको पूरै बेवास्ता गरेका छन् । 

राम्रो वाककला र जस्तोसुकै प्रश्नमा पनि आफूलाई केन्द्रमा पार्न सक्ने प्रकारको जवाफ दिन माहिर पूर्वप्रधानमन्त्री ओली आफ्नो पार्टीको एक निर्णयको जवाफ दिन भने असमर्थ भएका छन् । जवाफ दिन असमर्थ भएकै कारण उनले प्रश्नको जवाफ नदिएर अर्कै कुरा गरेका हुन् ।

उनले एमालेमा उमेर हद हटाएको सम्बन्धी प्रश्नको जवाफ टारेका हुन् । एमालेमा उमेर हद हटाउँदा त्यसको सबैभन्दा बढी लाभ अध्यक्ष ओलीलाई नै हुन्छ भनेर आलोचना गर्ने गरिएको छ ।

भएको के थियो भने आइतबाट नेपाल कला परिषद्मा भइरहेको चित्र प्रदर्शनी अवलोकनका लागि पुगेका अध्यक्ष ओलीलाई पत्रकारहरूले उमेर हद निलम्बन गरिएको विषयबारे जिज्ञासा राखेका थिए।

‘एमालेमा उमेर हद हटाएपछि तपाईंलाई पुनः अध्यक्ष हुने बाटो खुल्यो भन्ने छ, यसबारे तपाईं के भन्नुहुन्छ,’ पत्रकारले सोधेको थिए।

तर, ओलीले सो प्रश्नको जवाफ दिएनन् । बरु उनले भने– ‘यी चित्र राम्रा छन् ।’

पार्टीको दसौं महाधिवेशनबाट पारित विधानको धारा ८९ मा ७० वर्ष उमेर पूरा गरेपछि कुनै पनि कार्यकारी कमिटीमा बस्न नपाइने व्यवस्था थियो। त्यो व्यवस्था १० औं महाधिवेशनबाट निर्वाचित हुँदाका बखत लागू नहुने तर अधिवेशनपछि कार्यकारी कमिटीमा बस्न उमेर हद लाग्ने थियो।

तर, गत जेठ १९ गते बसेको सचिवाल बैठकले तत्कालका लागि त्यो व्यवस्था निलम्बन गरेको छ । यसपछि एमालेकै नेता कार्यकर्ता रूष्ट बनेका छन्। एमाले नेताहरुले भने नेकपा एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेसहितका नेतालाई कमिटीमा जिम्मेवारी दिन विधानका धारा १०१ अनुसार बाधा अड्काउ फुकाएको बताएका छन्।

तर, त्यो अधिकार केन्द्रीय कमिटीसँग मात्रै हुने भन्दै एमालेकै नेता–कार्यकर्ताले विरोध जनाएका छन्। अहिलेको विधानको व्यवस्था अनुसार अर्काे महाधिवेशनपछि उमेर हदका कारण ओली अध्यक्ष हुन नपाउने भन्ने थियो । तर, विधानको सो व्यवस्था हटाएपछि ओली अर्काे कार्यकालको लागि अध्यक्ष बन्न लागेको भन्ने आरोप उनका आलोचकहरुले लगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार