‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

शनिबार, जेठ २७, २०८०

काठमाडौँ– वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ ।
 
भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं साहित्यकारले उक्त पुस्तक लोकार्पण गरेका हुन् । पत्रकार गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित पुस्तकमा लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ, समाचार र कविता खण्डमा उनीसम्बन्धी लेखक, साहित्यकार र पत्रकारका लेख समेटिएका छन् । पुस्तकमा जोशीका केही मुख्य कृति र तस्बिर पनि समावेश गरिएका छन् ।
 
कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले विलक्षण प्रतिभाशाली जोशी नेपाली समाजले श्रद्धा र सम्मान गरेको अपवाद व्यक्तिका रुपमा रहनुभएको बताए । पत्रकार श्रीओम रोदनले लवाइखुवाई र हिँडाइसहित सबैले सिक्नुपर्ने सादगी जीवनशैली व्यतित गरेका संस्कृतिविद् जोशी जीवित सङ्ग्रहालय र सम्पदाका रुपमा सबैको प्रेरक बन्न सफल हुनुभएको धारणा राखे ।
 
प्रा डा लेखप्रसाद निरौलाले इतिहास, संस्कृति, साहित्य र मानवताका दृष्टिकोणले जोशी नेपाली समाजमा शिखर पुरुषकारुपमा थिए भने । समालोचक प्राडा ज्ञानु पाण्डेले संस्कृतिविद् जोशीले साहित्य, कला, दर्शन, पुरातत्वका क्षेत्रमा पुर्‍याएकोे योगदानको विभिन्न पाटो र पक्षबाट विश्लेषण गरे । 

पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सङ्घर्षले सत्यमोहनलाई र सत्यमोहनले सबैलाई सिकाएको सङ्घर्षको चर्चा गर्दै जोशी जीउँदो मानव सम्पदा भएको बताए । उनले जोशीको सङ्घर्ष, हक्की स्वभावलगायत विषयमा उहाँको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

पुस्तक प्रकाशक केशवप्रसाद पराजुलीसहित समारोहका अन्य वक्ताले राणाकालदेखि गणतन्त्रसम्म सबैबाट उक्तिकै श्रद्धाभाव प्राप्त गर्नुभएका जोशी सबै नेपालीका प्रेरक र पुजनीय भएको टिप्पणी गरे । 

आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, सम्पादकीय खण्डमा सात, तीन अन्तर्वार्ता, परिसिस्टाङ्क १७, समाचार १२ र कवितामा तीन सिर्जना समावेश छन् । चार सय आठ पृष्ठको उक्त कृतिको मूल्य रू पाँच सय ९० रहेको छ । संस्कृतिविद् जोशीको २०७९ असोज ३ गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्