सरकारकै एक घटकका नेताले भने– सत्ता टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिइयो

शनिबार, जेठ २७, २०८०

काठमाडौँ– सरकारकै प्रमुख एक घटक नेपाली कांग्रेसकै नेताले सत्ता टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका हुन् ।

आज कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीनवटै तहको अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने स्पष्ट पारे ।

नेता कोइरालाले आठजना प्रहरी र एक बालकको हत्या भएको त्यस्तो जगन्य अपराधका दोषीलाई आममाफी दिएको भन्दै उनले आक्रोशसमेत पोखे ।

सो अवसरमा उनले कांग्रेस कमजोर भएको हिन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 

उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्