मौसम पूर्वानुमान

अझै केहि दिन गर्मी बढ्ने, सकेसम्म घर बाहिर ननिस्किन अनुरोध

बुधबार, जेठ २४, २०८०

काठमाडौँ– देशका अधिकांश भूभागमा तापक्रम अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखा आज एक विज्ञप्ति जारी गर्दै तराईका जिल्लासहित काठमाडौं उपत्यका र पहाडी क्षेत्रका खोँचहरूमा तापक्रम क्रमिकरूपमा बढ्ने जानकारी दिँदै सतर्क रहन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी केही दिन देशभरिको तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्ने देखिन्छ । तराईमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम बढ्नसक्ने सम्भावना रहेको छ ।’

महाशाखाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्नेछ ।  ‘विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ। काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराईमा अधिकतम तापक्रम चालिस डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्