ओलीको कटाक्ष : एउटा हातमा रुद्राक्ष र अर्कोमा प्रमाणीकरणको कागज बोकेर प्रधानमन्त्री भारत गए

सोमबार, जेठ २२, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणप्रति कटाक्ष गरेका छन् । उनले प्रतिनिधिसभाको बैठकमा आज बोल्ने क्रममा कटाक्ष गरेका हुन् ।

भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्ड एक हातमा रुद्राक्ष र अर्को हातमा नागरिकता विधेयक प्रमाणीकरण गरेको पत्र बोकेर गएको ओलीले आरोप लगाए ।

‘भारत उड्नुअघि किन प्रमाणीकरण गर्नुभयो ?’, उनले प्रश्न गरे, ‘मंसिर ४ गते चुनाव भयो तर, प्लेन चढ्नुभन्दा दुई घण्टाअघि लाहाछाप लगाएर मान्छे भन्छन् मैले देखेको छैन । प्रमाणीकरण गरेर खल्तीमा हालेर लानुभयो भन्ने सुनेको हो मैले देखेको छैन ।’

प्रमुख प्रतिपक्षी दल नेता तथा पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नेपालको शिर ठडिने गरी नभएकोसमेत टिप्पणी गरे ।

भारत भ्रमणका बारेमा प्रधानमन्त्री प्रचण्डले जानकारी दिएपछि त्यसका विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता क्षेत्रमा भारतले मिचेको विषयमा स्पष्ट राख्न नसकेको र बंगलादेश जाने बाटो मागेर सो क्षेत्र दिन सकिने प्रधानमन्त्रीको भनाइ आएको उनको भनाइ छ । 

यस्तै, उनले प्रोटेकल पनि मिचिएको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना पनि गरे ।
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्