गरिबी अन्त्य गर्न प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने छ : अध्यक्ष ओली

शनिबार, जेठ २०, २०८०

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरिबी अन्त्य गर्न विज्ञान र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन् ।

ललितपुरस्थित पार्टी मुख्यालयमा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा उनले विज्ञान र प्रविधिको प्रयोग गर्न सके मुलुकमा विकास तीव्र गतिमा हुने बताए । उनले विज्ञानका नियमलाई प्रविधिमा विकास गरेर उत्पादन बढाउन सकिने धारणा राखे ।

विज्ञानका नियम पत्ता लगाउने र त्यसलाई प्रविधिमा रूपान्तरण गरेर विकासका लागि प्रयोग गर्नुपर्दछ”, उनले भने, “प्रविधिको विकासले हाम्रो आजको पछौटेपनलाई अगाडि बढाउँछ । कम उत्पादनलाई तीव्र वृद्धिमा लैजान्छ । छोटो धीमा गतिलाई तीव्रता दिन्छ । कम सामर्थ्यलाई बढी सामर्थ्यमा परिणत गर्दछ ।”

उनले विज्ञानको नियमअनुसार प्रविधिको विकास हुनुपर्ने भन्दै विज्ञानलाई रूपान्तरणमा परिवर्तन गर्न ‘इनोभेसन’ आवश्यक रहेको बताए । अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल र सुखी नेपाल’ भन्ने शब्द कुनै सरकार र प्रधानमन्त्रीले उच्चारण गर्न आँट नगरेको बताए । 

उनले कुनै व्यक्ति नभई सिङ्गो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको उल्लेख गरेर । अध्यक्ष ओलीले आफूहरूले मानव र समाजको विकास गर्न खोजेको बताए ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्