नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

बिहीबार, जेठ १८, २०८०

काठमाडौं - भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल अगाडि बढेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक भेटवार्तापछि आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले मल उद्योग खोल्ने प्रोजेक्टलाई सफल बनाउन नेपालबाट आवश्यक सहयोग हुने बताए ।

उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा मल उद्योग सञ्चालन गर्नेबारे छलफल भएको छ । यसलाई सफल बनाउन नेपालबाट आवश्यक सहयोग प्राप्त हुनेछ’, उनले भने ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालमा मल उद्योग खोल्न भारत सहमत भएको जानकारी दिएका थिए । प्रचण्डले आजादीको अमृत वर्षको उपलक्ष्यमा भारतलाई बधाई ज्ञापन गर्दै भारतले हाल प्राप्त गरेको आर्थिक विकास, पूर्वाधार विकास, गरिबी न्यूनीकरण तथा सामाजिक सुरक्षा स्किम नेपालका लागि पनि अवसरको रुपमा रहेको बताए ।

उनले सन् २०२६ सम्म न्यून विकास भएका देशबाट स्तरोन्नति गर्ने नेपालको लक्ष्य हासिल गर्न पनि नजिकको छिमेकीको हैसियतले भारतको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्