प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण

बिहीबार, जेठ १८, २०८०

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनीसँगै परराष्ट्रमन्त्री एनपी साउद लगायत भ्रमण टोली पनि समाधिस्थल पुगेको थियो ।

त्यसलगत्तै हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।

prachanda1685598629.jpg

ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्