सेभिल्लाले जित्यो सातौँ पटक युरोपा लिगको उपाधि 

बिहीबार, जेठ १८, २०८०

काठमाडौँ– स्पेनिस क्लब सेभिल्लाले सर्वाीधक सातौँ टिक युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

गएराति हंगेरीको पुस्कास एरेनामा भएको फाइनलमा इटालियन एएस रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै कीर्तिमानी सातौँ पटक उपाधि जितेको हो ।

सेभिल्लाका लागि अर्जेन्टाइन खेलाडी गोन्जालो मोन्टियलले निर्णायक पेनाल्टी प्रहार गरेका थिए । त्यसमा उनी चुकेनन् ।

मोन्टियल तिनै हुन् जसले कतार विश्वकप फाइनलमा पनि अर्जेन्टिनाका लागि विजयी पेनाल्टी प्रहार गरेका थिए ।

निर्धारित समयको खेल भने १–१ को बराबरीमा सकिएको थियो । पाउलो डिबालाले रोमालाई ३५ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, जियानलुका मानचिनीले आत्मघाती गोल गर्न पुगेपछि ५५ औँ मिनेटमा खेल बराबरीमा आएको हो । त्यसपछि दुवैतर्फबाट गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

रोमाका लागि रोजर इबानेज र जियानलुका मानचिनी पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि सेभिल्लाले जितेको हो ।

सेभिल्लाले खेलेका सबै सात युरोपा लिग फाइनल जितेको छ । पछिल्लो जितसँगै सेभिल्ला अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ । रोमाका प्रशिक्षक जोसे मोउरिन्हो भने पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनलमा पराजित भए ।

सेभिल्लापछि इन्टर मिलान, लिभरपुल, युभेन्टस र एट्लेटिको म्याड्रिडले समान ३–३ पटक युरोपा लिगको उपाधि जितेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्