नागरिकता विधेयक

नागरिकता विधेयकबारे रास्वपामा फरक–फरक मत

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेको नागरिकता विधेयकबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मै फरक–फरक मत आएका छन् ।

सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण भएको नागरिकता विधेयकको आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् आलोचना गरेका हुन् ।

सभापति लामिछानेले राष्ट्रपतिले संसदीय मूल्य, मान्यता मिचेर विधेयक प्रमाणीकरण गरेको आरोप लगाएका छन् ।

साथै, उनले विधेयक राष्ट्रहीतविरूद्ध रहेको बताएका छन् । तर, उनले यसबारे व्याख्या भने गरेका छैनन् । 

‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मूल्य–मान्यता र राष्ट्रहितविरुद्ध छ,’ उनले फेसबुकमा लेखेका छन् । 

सभापति लामिछानेले विधेयक राष्ट्रहीतविरुद्ध छ भन्दा उनकै पार्टीका नेता मनीष झाले भने धेरै मानिस अनागरिक रहेको र नागरिकता विधेयक अड्काएर राख्दा जटिल अवस्था सिर्जना भएको भन्दै घुमाउरो पारामा विधेयकको पक्षमा आफ्नो मत राखेका छन् ।

तर, उनले सभापति लामिछानेले जस्तै विधेयक प्रमाणीकरण प्रक्रियाको भने विरोध जनाएका छन् । 

‘अनागरिक हुनु भनेको सबैभन्दा पीडादायक अवस्था हो, नागरिकता विधेयक सधैँ अड्काएर राख्नुले धेरैका लागि जटिल समस्या सिर्जना भइरहेको छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यो अनन्तकालसम्म अकडाउनु राम्रो होइन । तर, नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मूल्य–मान्यताविरुद्ध छ ।’
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्