Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँमा रोजगार मेला सुरु

आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्य
मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँमा रोजगार मेला सुरु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आजदेखि महासङ्घको केन्द्रीय कार्यालय टेकुमा दुईदिने मेला सुरु भएको हो । 

मेलाको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेका बीचमा पुलको काम गर्ने बताए ।

उनले रोजगार मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवालाई रोजगार मेलाले रोक्न सक्ने उनको भनाइ छ ।  

अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्नका लागि निजी क्षेत्रको साथ र सहयोग रहेको बताए । उनले बजेटले स्टार्टअप र सीप विकासका विषयमा बजेटमा समेटेका विषय निजी क्षेत्रले उठाएको बताए । मेलामा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासङ्घका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहेको छ ।

कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्य मेलाले लिएको छ । रोजगार मेलामा सयभन्दा बढी कम्पनीको सहभागिता रहेको छ । 

महासङ्घले मेलामा कामको खोजीमा रहेका पाँच हजारभन्दा बढी युवालाई अवलोकन गराउने लक्ष्य लिएको छ । मेला भोलिसम्म चल्नेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्