टी–२० महिला क्रिकेटमा मलेसियामाथि नेपालको जित

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– मलेसियामा जारी टी–२०  अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो । 

मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २९ रन बनाइन् । उनले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।  

त्यसैगरी कविता कुँवरले ४३ बलमा दुई चौकासहित २६,  सीता रानामगरले २२ बलमा दुई चौका र एक छक्कासहित २३ र विन्दु रावलले १८ बलमा दुई चौकासहित १७ रन बनाइन् । 

बलिङतर्फ मलेसियाका लागि ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक-एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसाले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ३४ बलमा दुई चौका प्रहार गरिन् । यस्तै विनीफ्रेदले २०, वान जुलियाले २० तथा ऐना हामिजाह हाशिमले १४ रन बनाइन् । 
    
बलिङतर्फ नेपालका लागि रुविना क्षेत्री बेलबासेले दुई तथा इन्दु बर्मा र कविता कुँवरले समान एक एक विकेट लिइन् ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्