सन्दीपको मुद्दा छिटो किनारा लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ ।

युवाहरूले सन्दीपको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइमा ढिलाइ भएको भन्दै विभिन्न प्ले कार्डसहित प्रदर्शन गरेका छन् । मुद्दा किनारा लगाउन ढिलाइ गर्दा नेपाली क्रिकेटसँग सन्दीपकै करिअरमा बाधा पुगिरहेको उनीहरूको भनाइ छ ।

क्रिकेटर सन्दीपेविरुद्धको बलात्कार मुद्दा न्आज न्यायाधीश शंकरबहादुर राईको इजलासमा सुनुवाइ हुँदैछ ।

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मितिसम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो ।

पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक–पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि स्थगित हुँदै आएको थियो । 

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । 

अन्तिम सुनुवाइका क्रममा आज लामिछानेले सफाइ पाउने कि दोषी ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्