बजेटमा सुदूरपश्चिम प्रदेश : कुन–कुन योजना तथा कार्यक्रम समेटिए ?

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– सरकारले संसद्समक्ष आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममा सुदूरपश्चिम प्रदेशका केही महत्वपूर्ण योजना समेटिएका छन् । 

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा निकै चासोका साथ हेरिएको कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा सञ्चालन गर्ने विषय समेटिएको छ ।  

उक्त कलेजका भौतिक संरचना निर्माणको काम लगभग पूरा भइसकेको छ । सरकारले यो कलेजलाई एक सय शय्या सञ्चालन गर्ने गरी बजेटको व्यवस्था गरेको जनाएको छ ।

यस्तै लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् आयोजनाका साथै चैनपुर–सेती जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने विषय पनि बजेट वक्तव्यमार्फत सार्वजनिक गरिएको छ ।  

सुदूरपश्चिम प्रदेशका बजेटमा समेटिएका महत्वपूर्ण योजना तथा कार्यक्रमः 

  • गेटा मडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गरिने ।

  • कैलालीको लम्कीमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना ।

  • धनगढीमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन कार्यक्रम सञ्चालन ।

  • बैतडीको दशरथचन्द नगरपालिका र धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला निर्माण ।

  • मदनभण्डारी सडकको कैलाली खण्ड निर्माण तथा स्तरोन्नति ।

  • महाकाली करिडोर सडक निर्माण ।

  • खुटिया—दिपायल हुँदै जाने फास्ट ट्र्याक सडक निर्माण ।

  • दैजी–जोगबुढा हुँदै जाने सडक निर्माण ।

  • कैलालीको मोहनादेखि अत्तरियासम्म निर्माणाधीन सडकको बाँकी काम पूरा गरिने ।

  • बैतडीको पाटनमा सहरी विकास कार्यक्रम सञ्चालन ।

  • कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप काम निर्माण गर्न रु दुई अर्ब ६३ करोड बजेट विनियोजन ।

  • प्राथमिकता प्राप्त कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाका लागि एक अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन ।

  • जडीबुटीको प्रवर्द्धन गर्न आवश्यक पहल, महाकाली, कर्णाली, मोहन र खुटिया नदी तथा पहिरो नियन्त्रण कार्यक्रम, पश्चिम सेती जलविद्युत् आयोजना निर्माण, चैनपुर सेती जल विद्युत् आयोजना निर्माण आदि छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्