गाँजा खेती सम्भाव्यता अध्ययन गर्ने घोषणाले खुशी छु, सरकारलाई धन्यवाद : नेता तामाङ

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् ।

सरकारले बजेटमार्फत गाँजा खेती सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि पूर्व कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शेरबहादुर तामाङले खुशी लागेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । उनले सम्भाव्यता अध्ययन गर्ने घोषणा गाँजा खेतीको वैधानिकता पहिलो खुट्किलो भएको बताउँदै सबैलाई बधाईसमेत दिए ।

उनले भने, ‘गाँजा खेतीको वैधानिकता पहिलो खुट्किलो, म खुशी छु, सरकारलाई धन्यवाद, हामी सबैलाई बधाई ! तपाँईको समर्थनलाई धन्यवाद ।’

नेता  तामाङ र सांसद विरोध खतिवडाले गाँजा खेतीलाई कानुनी दायरामा ल्याई व्यावसायिक खेती गरी आर्थिक लाभ लिनुपर्ने भन्दै पैरवी गर्दै आएका छन् । उनीहरु दुबैले प्रतिनिधिसभामा नेपालमा गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्ने भन्दै गैह्र सरकारी विधेयकसमेत दर्ता गरेका थिए ।

सन् १९६१ को मार्चमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनले अन्तर्राष्ट्रिय अभिसन्धि ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१’ पारित गरेको थियो । यस अभिसन्धिले गाँजालाई लागुऔषध मान्दै प्रतिबन्ध लगायो । सन् १९७६ मा नेपालले अभिसन्धिमा हस्ताक्षर गरेपछि लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो।

यस कानुनमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्