‘बन्दी’लाई आममाफी

गणतन्त्र दिवसमा रेशम चौधरीलाई आममाफी, अन्य ४८२ जनालाई कैद माफी

यस्तै, ७ जना ज्येष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी
आइतबार, जेठ १४, २०८०

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेका रेशम चौधरीसहित १९ जना ‘बन्दी’लाई आममाफी दिएका छन् ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले  सिफारिस गरेअनुसार राष्ट्रपति पौडेलले रेशम चौधरीसहित १९ जना ‘बन्दी’लाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिएका हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले सरकारको सिफारिस अनुसार नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको उल्लेख गरिएको छ ।

यस्तै, राष्ट्रपति पौडेलले जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका अवसरमा ७ जना ज्येष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी  गरेका छन् ।  

“यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका चार सय ७५ र ज्येष्ठ नागरिक उदयनारायण गिरी समेतका सात जना गरी जम्मा चार सय ८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० का अवसरमा माफी भएको छ”, राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

kaid_aam_mafi1685286497.jpg

president_kaidmaaf1685286497.jpg

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार