प्रतिनिधिसभाको बैठक

राष्ट्रिय समस्या हल गर्न राष्ट्रिय सहमति गरौँ : प्रधानमन्त्री प्रचण्ड

शनिबार, जेठ १३, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्या हल गर्न राष्ट्रिय सहमति गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरु समाधान गर्न सबै एक ठाउँमा आएर  राष्ट्रिय सहमति गरी अघि बढ्नुपर्ने बताए ।

२०७२ मा विनाशकारी भूकम्प गएपछि प्रतिपक्षमा रहेको आफ्नो दलले सरकारलाई सहयोग गरेको र अहिले पनि संसदीय समिति गठन, संवैधानिक परिषद्का विषयमा आफूले सक्दो लचकता देखाएको उनले दाबी गरे । उनले पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भए पनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउनुपर्ने बताए ।

‘अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ । सुशासन, त्यसमा पनि भ्रष्टाचार विरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं ’, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले पहिलाको सरकार र अहिलेको सरकारले ल्याएको नीति कार्यक्रममा कुनै फरक नभएको र यो एक हदसम्म कर्मकाण्डी नै रहेको बताए । यद्दपी यसपटकको कार्यक्रममा केहि नयाँ मौलिकपन समावेश गर्न खोजिएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा अपराधी नछुट्ने र निर्दोष नफस्ने गरि अनुसन्धान गर्न निर्देशन दिएको र अव अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । 

उनले सम्पती शुद्धिकरण, राजस्व लगाएत बेतिथी रहेका क्षेत्रलाई क्रमश सुधार गर्दै लाने र यसका लागि सदनको साथ आवश्यक रहेको बताए । उनाले आफ्नो तेश्रो कार्यकाल अन्तिम हुन सक्ने भन्दै यसलाई चूनौतिपूर्ण र अवसरपूर्ण ठानेको उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्