लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु

शनिबार, जेठ १३, २०८०

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाएका थिए । 

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । ‘प्रदेशको समृद्धि नै अहिलेको आवश्यकता हो । रोजगारी सिर्जना गर्ने मूल लक्ष्य छ,’ उनले भने, ‘सरकारले जनभावनाअनुसार बजेट ल्याउने आशा छ ।’

नेकपा (एमाले)का उपनेता चेतनारायण आचार्यले प्रदेश स्थापना हुँदा बनेको सरकारले प्रदेशको समृद्धिका लागि योजना निर्माण गरेको र सोही योजनालाई आधार मानेर बजेट तथा कार्यक्रम बनाउन सुझाव दिए । उनले अघिल्लो पटक बनेका सरकारले अघि सारेका योजना र तिनको अवस्थाका बारेमा जिज्ञासा राखे । उनले प्रश्न गरे, ‘पाँच वर्षअघि सारिएका आयोजना अझै किन पूरा हुन सकेन ?’

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक इन्द्रजित थारुले सन्तुलित विकासलाई आधार मानेर सरकारले बजेट तथा कार्यक्रम बनाउनुपर्ने बताए । उनले सरकारले सबैको भावना सम्बोधन गर्न सक्नुपर्ने बताए । ‘विकास र समृद्धि अहिलेको मूल आवश्यकता हो,' उनले भने, 'बजेटले अहिलेको समस्या समाधान गर्ने मार्ग देखाओस् ।’

बैठकमा औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पेश भएको छ ।  दोस्रो अधिवेशनको पहिलो बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले उक्त विधेक पेश गरेका हुन् । प्रदेशसभाको यही बैठक जेठ १४ गते बस्नेछ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार