युनाइटेड च्याम्पियन्स लिगमा छनोट, ६ पटकको विजेता लिभरपुल असफल

शुक्रबार, जेठ १२, २०८०

काठमाडौँ– चेल्सीमाथि ४–१ को सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड बिहीबार इंग्लिस प्रिमियर लिग फुटबलमा एक खेल खेल्न बाँकी छँदै च्याम्पियन्स लिगमा छनोट भएको छ । युनाइटेडले लिगको शीर्ष पक्का गर्दै आगामी सिजनको च्याम्पियन्स लिगका लागि टिकट पक्का गरेको हो ।

गएराति घरेलु मैदानमा भएको खेलको छैटौं मिनेटमा नै कासिमिरोले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा एन्थोनी मार्सियालले युनाइटेडको अग्रता दोब्बर बनाए ।  यस्तै, ७३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडको अग्रता ३–० मा पुर्याएका थिए । 

यसैगरी खेलको ७८औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडका लागि तेस्रो गोल गरे । खेल सकिन एक मिनेट बाँकी रहँदा जाओ फेलिक्सले युनाइटेडका लागि सान्त्वना गोल फर्काएका थिए । 

युनाइटेड ३७ खेलमा ७२ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको न्युक्यासल युनाइटेडको समान खेलमा ७० अंक छ । लिग विजेता बनिसकेको म्यानचेस्टर सिटीको ८९ र दोस्रो स्थानको आर्सनलको ८१ अंक रहेको छ । 

अर्कोतिर युनाइटेडले चेल्सीमाथि जित निकालेसँगै ६ पटकको विजेता लिभरपुल भने च्याम्पियन्स लिगमा छनोट हुन असफल बनेको छ ।

लिभरपुल प्रिमियर लिगको पाँचौ स्थानमा रहेपछि छनोट हुन असफल बनेको हो ।

गत सिजन च्याम्पियन्स लिगको उपविजेता लिभरपुलले यस सिजन प्रिमियर लिगको सुरुवातबाटै स्वभाविक लय अनुसारको प्रदर्शन गर्न सकेको थिएन । योर्गन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुलले आगामी सिजन युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ । क्लोप आएपछि लिभरपुलले पहिलोपटक युरोपा लिग खेल्न लागेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्