यो नीति तथा कार्यक्रमले देशको १ वर्षको समय बर्बाद भयो, केही गर्नेवाला छैनः ओली

आइतबार, जेठ ७, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले देश नबाउने र एक वर्षको समय बर्बाद मात्रै गर्ने बताएका छन् ।

आज प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘यो नीति तथा कार्यक्रमले केही गर्नेवाला छैन । देशको कम्तिमा एक वर्षको समय बर्बाद भयो । म सबै पार्टीका सांसदहरुलाई यो नीति तथा कार्यक्रमलाई समर्थन नगर्न आग्रह गर्दछु,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भने ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न योग्य नै नभएको उनको आरोप छ । उनले नीति तथा कार्यक्रम नामको पोथा मात्रै आएको उनको भनाइ छ । ओलीले यो नीति तथा कार्यक्रम फिर्ता लिएर अर्काे बनाउन प्रधानमन्त्रीलाई पनि आग्रह पनि गरे । देशको आर्थिक अवस्था सुधार नगर्ने, देशलाई अघि नबढाउने र जनताको जीवनस्तरमा सुधान नल्याउने नीति तथा कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्