सत्ता र प्रतिपक्षका नेताहरूसँगको बैठकलाई शंकाको दृष्टीले नहेर्न प्रधानमन्त्रीको आग्रह

शनिबार, जेठ ६, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँगको बैठकलाई शंकाको दृष्टीले नहेर्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका हुन् ।

उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूको बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो कि भन्ने शंका गर्ने गरिएको भन्दै आफूहरू सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नबिरुद्ध एकजुट हुनका लागि बसेको बताए ।

उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले पुँजीबजार सम्बन्धीका सेटिङहरू भत्काएको बताए । उनले सरकारले अहिले राजश्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको बताए । उनले सरकारले रेमिट्यान्सको वृद्धि गर्न पनि काम गरिरहेको बताए ।

उनले नक्कली भुटानी शरनार्थी प्रकरणमा अनुसन्धानका क्रममा दोषी देखिएकालाई हदैसम्मको कारबाही हुने बताए । प्रचण्डले भारत भ्रमणबाट नयाँ रेकर्ड बनाउने कोसिस हुनेसमेत बताए । उनले भने, ‘मैले निकट भविष्यमानै भारत भ्रमण गर्दैछु । त्यो भ्रमणबाट नयाँ रेकर्ड बनाउने कोसिस हुनेछ।’

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्