पार्टीमा अब ३३ प्रतिशत स्थान युवालाई दिइने : महासचिव पोखरेल

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीका आधारभूत तहका कमिटीमा ३३ प्रतिशत स्थान युवालाई दिइने बताएका छन् ।

अनेरास्ववियुको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टी निर्माणमा ३५ वर्षमुनिका युवालाई विशेष प्रथामिकता दिइने बताए । “पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ । त्यो युवाको अनुहार हेरेर पार्टीले भनेको हो”, उनले भने, “अब समाज बदल्ने युवाले हो, नेतृत्व गर्ने युवाले हो । त्यसैले नेतृत्व गर्ने ठाउँका लागि तयार रहेको छौँ भन्ने सन्देश युवाले दिनुपर्दछ ।”

उनले यस वर्षलाई पार्टीले अधिवेशनको वर्ष बनाउन खोजेको समेत बताउनुभयो । अनेरास्ववियु विद्यार्थीबीचमा जति धेरै सङ्गठित भएर अगाडि बढ्छ पार्टीको भविष्य त्यति नै सुरक्षित हुने उनको भनाइ थियो ।

उनले अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता नगर्नसमेत आग्रह गरे । “अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता गर्नु पर्दैन । गाउँ गइहाल्ने, समाज बदल्ने कुराको नेतृत्व गर्ने हो”, उनले भने ।

महासचिव पोखरेलले सहरिया मध्यम वर्गलाई पार्टीले सामजिक एजेण्डाबाट जोड्न नसकेको बताए । “पार्टीमा समस्या देखिएपछि सारा ध्यान हाम्रो पार्टीको रक्षा गर्ने कुरामा केन्द्रित भयो । पार्टी रक्षा गर्न ठूला–ठूला प्रदर्शन गर्‍यो, जनताका एजेण्डामा आधारित भएर जनपरिचान हुन पाएनौँ, त्यसैले सहरिया मध्ययम वर्गको टुट्न गयो ।”

जनसङ्गठनका नेता आफ्नो समुदायको भरोसायोग्य नेता बन्नुपर्ने उनको भनाइ थियो । “आजभोलि जनसङ्गठनका नेता पार्टी सङ्गठनमा बढी र आफ्ना गतिविधिमा कम देखिने गरेका छन्”, उनले भने, “त्यसरी जनसङ्गठनको नेता बन्न सकिन्न । अनेरास्ववियु पार्टी कार्यालयमा नभई विश्वविद्यालय, क्याम्पस र विद्यालयमा देखिनुपर्‍यो ।”

कार्यक्रममा अखिलका अध्यक्ष समिक वडालले राजनीतिक मुद्दामा अखिल केन्द्रित भइरहेको बताए । तीन दिनसम्म सञ्चालन हुने बैठकले शैक्षिक एजेण्डा तय गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्