रघु पन्तले भने– खाइलाग्दो देखिनु भयो, प्रचण्डको जवाफ– मेरो तौल घटेको छ
काठमाडौँ– प्रधानमन्त्री प्रचण्ड र एमाले सांसाद रघुजी पन्तबीच रमाइलो घोचपेच भएको छ । प्रतिनिधिसभामा आज भएको सांसदको प्रश्नको जवाफ दिने कार्यक्रममा यस्तो दृश्य देखिएको हो ।
सांसद पन्तले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुअघि आफूले उनलाई निकै खाइलाग्दो र हेन्डसम देखेको बताए ।
‘धेरैदिनपछि देखेर होला, प्रधानमन्त्रीज्यू, मेरो आँखालाई भ्रम परेको त होइन होला, प्रधानमन्त्रीज्यू पहिलाभन्दा हेन्डसम हेन्डसम देखिनुभा छ । झन दौरा सुरुवाल लगाएर आउनु भएको छ, खाइलाग्दो पनि देखिनु भा छ । कामना छ, प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनु भा छ, नेपाली जनता पनि छिटै नै त्यति नै खाइलाग्दो देखिउन्,’ सांसद पन्तले भने ।
सांसद पन्तले यसो भन्दै गर्दा प्रधानमन्त्री प्रचण्डले ‘के भनेको यस्तो’ भनेर सानो स्वरमा बोलेको पनि सुनिएको थियो ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ फर्काए ।
‘माननीय सदस्यले मेरो अलि धेरै नै प्रसंसा भनौं कि व्यङ्गे के भन्ने हो, त्यसको लागि धेरै धन्यवाद । म धेरै खाइलाग्दो भएको छु जस्तो लागेको छैन । मेरो तौल चै घटिराखेको छ । देख्दाखेरी चै तपाईंले राम्रो देख्नु भएछ, तपाईको आँखालाई पनि धन्यवाद,’ प्रधानमन्त्री प्रचण्डले भने ।