नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा पक्राउ परेका सबै आरोपित थप ३ दिन हिरातसमा रहने

बुधबार, जेठ ३, २०८०

काठमाडौं -  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका एमाले सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका सांसद तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जनाविरुद्ध अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई थप ३ दिन समय दिएको हो ।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । तर, अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको समय लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले जानकारी दिए ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुरका सानु भण्डारीलाई पक्राउ गरेको थियो भने चैत १५ मा मोरङका सागर राई पक्राउ परेका थिए ।

शरणार्थी प्रकरणमा एमाले नेता रायमाझी, खाँणसहितका १४ जना जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका विभिन्न हिरासतमा रहेका छन् । प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्