नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ : गृहमन्त्री

बुधबार, जेठ ३, २०८०

काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

'कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन, अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निस्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ । दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौँ,’ श्रेष्ठले भने ।

बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने जुन प्रक्रिया देखिएको छ, यसमा कडा कारबाही गर्ने तहमा हामी छौँ,' श्रेष्ठले भने ।

श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए । यो अपराधमा सम्लग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्