कारागारबाटै कविता सङ्ग्रह ‘बन्द पर्खालबाट’ प्रकाशित

बुधबार, जेठ ३, २०८०

झापा– झापा कारागारमा रहेका रमेश पोखरेल र राजेन्द्र थेबेले ‘बन्द पर्खालबाट’ नामक कविता सङ्ग्रह प्रकाशित गरेका छन् ।

प्रतिक्षित नयन साहित्यिक समाज प्रकाशक रहेको उक्त संयुक्त कृतिमा कवि पोखरेलका १५ वटा र कवि थेबेका २६ वटा गद्य कविता समेटिएका छन् । कवि पोखरेल पूर्वपत्रकार हुन्भने अर्का कवि थेबे कारावास पुग्नुअघि सामाजिक अभियन्ता थिए ।

कृतिको भूमिका लेख्दै अग्रज पत्रकार चन्द्र भण्डारीले बन्दी गृहको भीडभाड र अप्ठेरो बसाइबीच दुई कविले कविता सङ्ग्रह प्रकाशित गरेर सिर्जनशील मान्छेको उडानलाई कुनै पर्खालले पनि छेकेर राख्न सक्दैन भन्ने प्रमाणित गरेको उल्लेख गरेका छन् । उनले कारागारको जीवन बिताइरहेका व्यक्तिभित्र देश प्रेम, समृद्धि र मुक्त आकाशको आकांक्षासँगै समग्र समाजलाई प्रगतिमार्गमा डोहो¥याउने तीव्र हुटहुटी हुन्छ भन्ने कुरा कृतिमा समेटिएका कविताले सन्देश प्रवाहित गरेको बताएका छन् ।

कविद्वयको कविता सङ्ग्रहले कारागारको पर्खालभित्र प्रतिभा कैद हुन सक्दैन भन्ने उदाहरण दिएको झापा कारागारमा सञ्चालित बन्दी विकास पुस्तकालयका अध्यक्ष लयप्रसाद शिवाकोटीले बताए । कारागारभित्र कैदीबन्दीलाई अध्ययनको अवसर दिलाउन विसं २०५४ मै बन्दी विकास पुस्तकालय स्थापना भएको जनाउँदै उनले कारागार एउटा सुधारगृह भएको हुँदा त्यहाँ बस्ने कैदीबन्दीले आफ्नो साहित्यिक प्रतिभा र जीवनपयोगी सीप देखाउने अवसर पाउने बताए ।

झापा कारागारका प्रमुख मोहन पनेरूले असजिलो बसाइका क्रममा आफ्नो साहित्यिक प्रतिभालाई मर्न नदिएर कवि पोखरेल र थेबेले प्रशंसनीय कार्य गरेको बताए । कृतिको प्रकाशक प्रतिक्षित नयन साहित्यिक समाज कारागारभित्रै रहेका साहित्यमा रुची राख्नेले स्थापना गरेको संस्था भएको जनाउँदै समाजका अध्यक्ष मनोज लावतीले कारागारभित्र नियमित रुपमा साहित्यिक कार्यक्रमह आयोजना भइरहेको बताए ।

कृतिका सर्जक रमेश पोखरेलले बन्दी जीवन विश्वविद्यालय जस्तो अनुभूति भइरहेको जनाउँदै कारागार बसाइका अनुभूति कवितामा अभिव्यक्त गरेको बताए । अर्का सर्जक राजेन्द्र थेबेले कारागारभित्र लेख्ने र पढ्ने वातावरण भएको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्