साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ : महमन्त्री शर्मा

मंगलबार, जेठ २, २०८०

ललितपुर– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यकार हुन परिस्थिति मात्रै नभई, मनस्थिति पनि चाहिने बताएका छन् ।

ललितपुरमा साहित्यकार वसन्तश्री (वसन्त रोकाया)को ११औँ कृति 'हिमाल' खण्डकाव्यको आज विमोचन गर्दै उहाँले लेखिरहँदा जति सन्तुष्टि प्राप्त हुन्छ राजनीतिबाट त्यति सन्तुष्टि प्राप्त हुन नसक्ने बताए ।

हुम्लाको सिमकोटमा जन्मिएका वसन्तश्री मानसरोवर बहुमुखी क्याम्पस सिमकोटका पूर्व क्याम्पस प्रमुख हुन् । उनले कर्णालीबाट काठमाडौँ आएर भोग्नुपर्ने पीडा र सङ्घर्षमा आधारित रहेर खण्डकाव्यमा तयार पारेका छन् । खण्डकाव्यमा १० खण्ड रहेका छन् ।

“साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ । साहित्यमा जति तागत छ, त्यति राजनीतिमा छैन । लेखिरहँदा जति सन्तुष्टि प्राप्त हुन्छ । लेखिएका कृतिहरुले तत्काल मात्रै हैन, चीर काल पर्यान्तसम्म प्रभाव पर्छ । लेखकको शक्ति चीर कालसम्म प्रभाव पार्छ” महामन्त्री शर्माले भने ।

उनले सहर बन्दै गएको, भवन ठडिँदै गएको, तर भावना मर्दै गएको अवस्थामा कविताले भावनात्मक सम्बन्धलाई जोडेको तर्क गरे । सृजनशीलताले नेपाली साहित्यमा सकारात्मक प्रभाव छोड्ने बताउँदै उनले कर्णाली अबको दशकमा समृद्ध प्रदेश बन्ने विश्वास व्यक्त गरे । साहित्यको माध्यमबाट नेपालीपनको भावलाई सौन्दर्यीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । 

हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्दै साहित्यकार प्राडा मोहनप्रसाद तिमल्सिनाले कविता भनेको लेखकले भन्दा पाठकले बुझ्ने बताए । उनले भने, “कविता भनेको लेखकले भन्दा पाठकले बुझ्छ । यो खण्डकाव्य चलचित्रात्मक शैलीमा लेखिएको छ । जीवन र जगतसँग सापेक्ष सम्बन्ध राख्ने सन्देशमूलक छ । यो काव्य मानिसलाई स्वाभिमानी बनाउने सन्देश दिने खालको छ ।” 

हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्दै खण्डकाव्यमा पिएचडी गरेका प्राध्यापक डा नारायण गर्तौलाले लेखक नै खण्डकाव्यको पात्रमा व्यक्त भएको हो कि भन्ने भान हुने बताए । “कर्णालीको वेदना हिमाल खण्डकाव्यमा व्यक्त भएको छ । खण्डकाव्य भनेको जीवनको एउटा क्षणलाई व्यक्त गर्ने काव्य हो । खण्ड काव्यमा हिमाल र यार्साको यौन, शिक्षा, स्वास्थ र प्रेमलाई व्यक्त गरिएको छ” उनले भने । 

लेखक वसन्तश्रीले  हिमाल पुरुष प्रदान खण्डकाव्य भएको बताए । उनले समाजमा भएका गतिविधिलाई साहित्यमार्फत व्यक्त गर्नुपर्ने र त्यसलाई राजनीतिमार्फत बदल्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्