नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरण : आरजु राणाको नाम जोडिएकोप्रति महिला सङ्घको आपत्ति

सोमबार, जेठ १, २०८०

काठमाडौँ– नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ । 

महिला सङ्घले आज विज्ञप्ति प्रकाशन गरेर नेपाली कांग्रेसकी सांसद डा राणालाई विभिन्न लाञ्छना लगाइ सो प्रकरणमा उहाँको संलग्नता रहेको भनेर नियतबस आरोप लगाइएको भन्दै यस कार्यको भर्त्सना गरेको छ ।

नेपाल महिला सङ्घकी अध्यक्ष उषा रावत मिश्रद्वारा आज जारी विज्ञप्तिमा प्रहरीले अनुसन्धान गरिरहेको यस घटना नेपालको प्रतिष्ठासँगै जोडिएकाले यसमा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्छ भन्दै डा राणा आफैँले संसद् तथा अन्य सार्वजनिक मञ्चहरुमा आफ्ना भनाइ राखिरहनुभएको अवस्थामा उनको संलग्नता भएको जस्ता आधारहीन प्रचार गर्नु उनीप्रतिको अन्याय हो भनिएको छ ।

उनका बारेमा आएको यस समाचारले समाजमा भ्रम सृजना गरिरहेको भन्दै सो विज्ञप्तिमा भनिएको छ, “यस्ता खाले आधारहीन दुष्प्रचार र महिला नेताहरुमाथि हुने गरेको राजनीतिक हिंसा हिंसाहरु तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ ।”

सो विज्ञप्तिमा यसरी कसैको चरित्र हत्या गर्नेगरी समाचार सम्प्रेषण नगर्न तथा सत्यतथ्य एवं वस्तुनिष्ठ हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार