ठोरीमा राम जन्माउने ओली कसरी भए ‘युटर्न’ ?

सोमबार, जेठ १, २०८०

काठमाडौँ– विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विपक्षीहरू आरोप थियो, उनी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी हुन् । 

हुन पनि एक कम्युनिस्ट पार्टीका नेता हुनका बाबजुद उनी विगतमा राजसंस्थाप्रति नरम र हिन्दूराष्ट्र पक्षधर र संघीयताविरोधी जस्ता देखिन्थे ।

ओलीले ०६२–६३ सालको जनआन्दोलन ताका अरुले गणतन्त्र ल्याउने कुरा गर्दा भन्ने गर्थे, ‘बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन ।’

साथै, उनले पर्साको ठोरी गएर त्यहाँ भगवान् राम जन्मिएको दाबीसमेत गरे । उनी यतिमै रोकिएनन् । 

ओलीले पशुपतिनाथको दर्शन गर्नेदेखि आफू प्रधानमन्त्री भएको बेला बालुवाटारमै राम–सीताको मुर्ति स्थापना गर्न भ्याए ।

यस्तै, ओलीलाई पहिचाचावादीहरूले संघीयताविरोधीको रुपमा समेत चित्रण गर्थे । यतिसम्मकी गत महिनामात्रै ओलीलाई आफ्नै जन्मभूमि तेह्रथुमदेखि लिएर उनको गृहजिल्ला झापामा समेत भौतिक आक्रमणको प्रयास भयो ।

विगतमा ‘प्रतिगामी’ गहलिएका उनै ओली अहिले ठ्याक्कै एलटा भएका छन् । विशेषगरी आफ्नै क्षेत्र सुदूरपूर्वमा लखेटिए काठमाडौ आएपछि उनले त्यसको दोष राजतत्त्र पक्षधरलाई लगाए । आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहका मानिसले आक्रमण गरेकोसमेत दाबी गरे ।

ओलीले पूर्वयुवराज्ञी हिमानी शाहको फेक फेसबुक एकाउन्टलाई आधार बनाएर राजसंस्था र त्यसका पक्षधरहरूलाई ‘स्वार्थी र बुद्धि नभएकाले मात्र राजतन्त्रको वकालत गर्छन्’ भने ।

ओली यतिमै रोकिएका छैनन् । हालै सम्पन्न केन्द्रीय समितिको बैठमा ओली झनै उग्र भएर निस्किए ।

प्रतिवेदन पेस गर्दै उनले दक्षिणपन्थी शक्ति संविधान र लोकतान्त्रिक गणतन्त्रको असफल पार्ने शक्तिहरू सक्रिय बनेको बताए ।

यस्तै, ओलीले ‘संघीयतामाथि पुर्नविचार हुँदैन’ मात्र भनेनन् ‘हिन्दूराज्य भन्दै नहिड्नू’ भन्दै केन्द्रीय सदस्यहरूलाई कडा निर्देशन दिए ।

आखिर यसरी किन बदलिए त ओली ? यो प्रश्न खडा भएको छ । उनी बदलिनुमा मुख्यतः दुई कारण आकलन गरिएको छ ।

पहिलो– पूर्वमा आफूविरुद्ध उर्लिरहेको पहिचान पक्षधर जनमतलाई थामथुम पार्नु । दोस्रो– नक्कली शरणार्थी प्रकरणमा आफ्ना नजिकका थप मानिस पर्ने भयले त्यसलाई विषयान्तर गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै एजेन्डामा सहमत भएजस्तो देखिनु ।

कारण जे भए पनि उनी राजसंस्था, धर्म र संघीयताका विषयमा युटर्न भएको भने महसुस गर्न सकिन्छ । 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्