१७ अंकले घट्यो नेप्से परिसुचक, ९० करोडको कारोबार

आइतबार, वैशाख ३१, २०८०

काठमाडौँ– साताको पहिलो दिन पुँजी बजार मापक नेप्से परिसुचक १७ अंकले घटेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि बढ्ने आश परिएको सेयर बजार झन घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आइतबार नेप्से परिसुचक १६.९८ अंकले घटेर १८२१.६४ विन्दुमा पुगेको छ । आज ४० कम्पनीका सेयरको मूल्य बढेपनि १६९ कम्पनीका सेयरको मूल्य घटेको छ । यस्तै, ९ कम्पनीका सेयरको मूल्यमा कुनै परिवर्तन भएन ।

आज २७ लाख ८८ हजार कित्ता सेयर ९० करोड रुपैयाँमा कारोबार भएका हुन् । 

आजको कारोबारमा एउटा बाहेक सबै समुहको उपसुचक घटेका छन् । नेप्सेले दिएको जानकारी अनुसार बैंकिङ समुहको सुचक ८.६७ अंकले, विकास बैंक समुहको सुचक ३८.६२ अंकले, फाइनान्स कम्पनी समुहको सुचक १९.२८ अंकले, होटल तथा पर्यटन समुहको सुचक २७.६७ अंकले र जलविद्युत समुहको सुचक ५०.५५ अंकले घटेका छन् ।

यस्तै, जीवन बीमा समुहको सुचक ४०.३१ अंकले, उत्पादन तथा प्रसोधन समुहको सुचक ६९.२५ अंकले, माइक्रो फाइनान्स समुहको सुचक १६.४२ अंकले, म्युचुअल फण्ड समुहको सुचक ०.०६ अंकले, निर्जीवन बीमा समुहको सुचक ४०.५३ अंकले, व्यापार समुहको सुचक ११.०२ अंकले र अन्य समुहको सुचक २७.९२ अंकले घटेका छन् । लगानी समुहको सुचक भने ०.७ अंकले बढेको देखिएको छ । 

घटेको बजारमा पनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ६.३७ प्रतिशतले घटेको छ । यस्तै, दोर्दीखोल जलविद्युत, हिमालयन उर्जा विकास कम्पनी, स्वेतगंगा हाइड्रोपावर र कृषि विकास बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेका छन् । आजको बजारमा सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको सेयरको भएको छ । कोषले भर्खरै मात्र २६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्