ठुला ३ पार्टीका दोस्रो तहका नेतासमेत सहभागी भएर के विषयमा छलफल भयो बालुवाटारमा ?

आइतबार, वैशाख ३१, २०८०

काठमाडौँ– केही दिनयता ठुला ३ दलबीच तीब्र बनेको बालुवाटार छलफलमा आज ती दलहरुका दोस्रो तहका नेतालाई पनि छलफलमा बोलाइएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । सोही छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुलाई पनि बोलाइएको छ ।

शिर्ष ३ नेताको छलफल चलिरहेका बेला कांग्रेसका उपसभापति समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक नेता रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादीका हितराज पाण्डेलाई बालुवाटार बोलाएर छलफल भएको हो ।

शिर्ष नेताहरुको बीच भएको छलफलमा दोस्रो तहका नेता र प्रमुख सचेतकहरुलाई पनि किन बोलाइएको भन्ने चासो बढेको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आयार्च संसदीय गविधिलाई सुचारु ढंगले अघि बढाउन सो छलफल भएको बताउँछन् ।

‘प्रधानन्यायाधीश सिफारिस भएपनि सुनुवाईको लागि संसदीय समिति बनेको छैन । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदमा दर्ता त भयो, छलफलको लागि अघि बढेन । संसदीय समितिहरु गठन भएका छैनन् । यस्ता विषयहरुमा टुंगोमा पुग्नको लागि छलफलहरु भइरहेका हुन्,’ प्रेस संयोजक आयार्चले भने ।

शिर्ष तहमा यी विषयमा छलफल भएपछि प्रमुख सचेतक सहितको छलफल गरेर सहमतिमा पुगिएको उनले बताए । यी विषयमा अघि बढ्ने सहमति भएर नेताहरु अहिले वाहिरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्