नक्कली भुटानी शरणार्थी प्रकरण :

आफ्नो निवासमा बरामद भएको गोप्य कागज इन्सपेक्टरको हातबाट खोसेर खाणले चपाइदिएपछि...

शनिबार, वैशाख ३०, २०८०

काठमाडौँ- पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्नो निवासबाट प्रहरीले बरामद गरेको गोप्य कागज खोसेर चपाइदिएकाछन् । उक्त कागज आफूविरूद्ध बलियो प्रमाण बन्नसक्ने भएकाले उनले नष्ट गरिदिएका हुन् ।

भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो । त्यसक्रममा एउटा गोप्य कागज पनि बरामद भएको थियो । तर, एकछिनमै प्रहरीको हातबाट खोसेर खाणले त्यो कागज चपाएर निलिदिएका थिए ।

खानतलासी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर राजन लामाले खाणका भान्सेको साथबाट सो पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए, जसमा ठगी प्रकरणसँग सम्बन्धित विषय भएको स्रोत बताउँछ । त्यो पत्र आफूविरुद्धको बलियो प्रमाण हुने थाहा पाएपछि खाणले खोसेर चपाइदिएको प्रहरीको आकलन छ ।

त्यस विषयमा प्रहरीले भान्सेको समेत कागज गराएको छ । ‘इन्स्पेक्टरसाब त्यो कागज हातमा लिएर उहाँ (खाण)लाई गाडीमा हाल्ने प्रयासमा हुनुहुन्थ्यो, त्यही मौकामा खोसेर चपाएर निलिदिनुभयो,’ खाणलाई पक्राउ गर्न गएका परिसरका एक प्रहरीले भने ।

खाणले अहिले थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सो कागज दिन खोजेको सूचना प्रहरीले पाएको छ । सुरुमा पाण्डेले इन्कारी बयान दिएका थिए । तर, पछि उनको मोबाइलमा आर्थिक लेनदेनका कुराकानी भेटिएपछि पैसा लिएको स्वीकार गर्दै आफ्ना लागि नभई तत्कालीन गृहमन्त्री खाणका लागि लिएको ततिम्बा (पूरक) बयान दिएका छन् । (यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।)

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्