नक्कली भुटानी शरणार्थी प्रकरण

खाणले अनुसन्धानलाई सघाएको कांग्रेसको जिकिर, निलम्बनबारे भएन निर्णय 

दोषीलाई अनुसन्धानका क्रममा सत्यतथ्य छानविन हुनुपर्ने कांग्रेसको आधिकारिक धारणा
बिहीबार, वैशाख २८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गर्न नेता बालकृष्ण खाणले प्रहरीलाई सहयोग गरेको जिकिर गरेको छ। 

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले शरणार्थी प्रकरण दोषीलाई कुनै हालतमा छाड्न नहुने निश्कर्ष निकाल्दै अनुसन्धानमा नेता खाणले प्रहरीलाई सहयोग गरेको जिकिर गरेको हो । यद्यपी पक्राउ परेका नेता खाणलाई निलम्बन गर्नुपर्ने विषय बैठकमा उठेपनि त्यसबारे कुनै निर्णय भएको छैन् ।

बैठकमा नेता निलम्बन गर्नुपर्ने कुरा उठेपनि कुनै निश्कर्षमा नपुगेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । उनले भने, ‘निलम्बनबारे केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निश्कर्षमा पुगेका छैनौं ।’ 

पक्राउ परेर खाँणले प्रहरीको अनुसन्धानलाई सहयोग गरेको नेता परियारले बताए । कतै लुक्ने र भाग्ने नगरी बुटवलमा हुँदा पनि काठमाडौं आएर अनुसन्धानलाई सहयोग गरेको उनको भनाई छ। 

खाण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने उनको भनाई छ । दोषीलाई अनुसन्धानका क्रममा सत्यतथ्य छानविन हुनुपर्ने कांग्रेसको आधिकारिक धारणा रहेको पनि उनले बताए। 

बैठकले नीति अधिवेशन गर्नुभन्दा अघि भातृसंगठनलाई पूर्णता दिने बिषयमा पनि छलफल भएको उनले बताए । बैठकमा कोशी प्रदेश सरकारका बिषयमा पनि गम्भीर रुपमा छलफल गरेर केन्द्रको सरकारसंग तालमेल गर्ने भन्ने बिषयमा छलफल भएको परियारले बताए । 

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार