नक्कली शरणार्थी प्रकरणबारे विदेशी मिडियामा कस्तो समाचार आयो ?

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोह एक पछि अर्को सार्वजनिक भएको विषयले अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चा पाएको छ ।

विदेशी संचार माध्यमहरुले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा संगठित गिरोह नै लागेको समाचार सम्प्रेषण गरेका छन् । 

यस घटनामा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेका उच्च तहमा प्रभाव राख्ने नेताहरूको संलग्ना रहेको समाचारमा जनाइएको छ । 

dh1683795863.JPG

सो प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ भने पूर्वउपप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव टोपबहादुर रायामाझी फरार छन् । यस्तै, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाण पनि सो प्रकरणमा संलग्न भएको अडियो बाहिरिएपछि अन्तराष्ट्रिय मिडियाले बढी चासो दिएको देखिन्छ ।

प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार पक्राउ गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । यही प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ नै परिसकेका छन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको ती मिडियाहरूले जनाएका छन् ।

भारतबाट प्रकाशित पत्रिका ‘द हिन्दु’ लेख्छ –भुटानी शरणार्थी प्रकरणमा नेपालका पूर्वगृहमन्त्री पक्राउ ।

चीनको साउथ चाइना मर्निङ पोष्टले चीन र भारतसँगको सम्बन्धमा असर पार्ने ‘शरणार्थी घोटाला’ अनुसन्धानमा नेपालका अधिकारी पक्राउ परेका समाचार प्रकाशित गरेको छ । ‘हिमाली राष्ट्रको पूर्वाधारमा ठूलो लगानी गरेका भारत र चीनको चिन्तालाई शान्त पार्ने चुनौती नेपालको नेतृत्वसामु अब रहेको छ’, समाचारमा भनिएको छ ।

भारतको अंग्रेजी समाचार च्यान विआन (वर्ल्ड इज वन न्युज)ले पूर्वगृहमन्त्री खाँण पक्राउ परेको उल्लेख गर्दै भ्रष्टाचारको विषयमा संसदमा बोल्न पाउनु पर्ने माग गर्दा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लुगा फुकालेको समाचारलाई प्राथमिकता दिएको छ ।

भारतकै अनलाइन मिडिया द प्रिन्ट र समाचारपत्र द ट्रिब्युनले पनि खाँण पक्राउ प्रसंगलाई स्थान दिएको छ ।

south china post1683795874.JPG

‘शरणार्थी प्रकरणलाई लिएर चर्को आक्रोशमा नेपाली सांसद’शीर्षकमा इन्डिएन एक्सप्रेसले लेख्छ, ‘यस घटनामा थुप्रै प्रभावशाली नेता र सरकारका कर्मचारी संलग्न छन् ।’

भारतकै डेक्कन हेराल्डले स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भ्रष्टाचारको विषयमा बोल्न नपाउँदा विरोध स्वरूप लुगा फुकाल्न बाध्य भएको प्रसंग जोड्दै यस प्रकरणा पूर्ववरिष्ठ मन्त्री र अन्य उच्च तहका पूर्वसरकारी अधिकारीहरू पनि संलग्न रहेको जनाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको भनाइ उद्धृत गर्दै भारतको द डेली गार्जियनले लेख्छ, ‘नक्कली भुटानी शरणार्थीको मुद्दा अर्थसँग मात्र सम्बन्धित छैन । यो ठगी, राज्य विरुद्ध संगठित अपराध हो ।’

the print1683795888.JPG

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्